बगनासकाली बन्यो लुम्बिनी प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका

भोजराज भट्टराई
१४ चैत्र २०७७, शनिबार २०:३३

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँ कार्यपालिका प्राङ्गगणमा घोषणा समारोहको आयोजना गरी पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

घोषणा सभाका प्रमुख अतिथि गाउँपालिकास्तरीय बालसञ्चालकी अध्यक्ष इन्दू गाहाले बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता महत्त्वपूर्ण भएकोले गाउँपालिकाका सवै पक्षहरूले यसको दीगोपन रणनैतिक कार्ययोजना कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमाले बगनासकाली गाउँपालिका अध्यक्ष हरि पाठकले बालमैत्री घोषणा सभाले बालअधिकारको हक अधिकार सुनिश्चिततामा कन्युज्याइँ हुने छैन भन्ने विश्वास दिलाएको बताउनुभयो । उहाँले बालबालिकाहरू सक्षम, सवल नहुँदासम्म समाज विकास निर्माणमा अगाडि जान नसक्ने भन्दै बालबालिका भोलि समाजको नेतृत्वदायी भूमिकामा रहने भएकोले बालमैत्री गाउँपालिका घोषणा सार्थक रहेको धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका बगनासकाली अध्यक्ष यमलाल तिमिल्सिनाले घोषणा गरेका कुरालाई दीपोपनको लागि निरन्तर स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा बधाई दिदै घोषणा अनुसार कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभयो । राप्रपाका कपिल ढुङ्गानाले बालमैत्री गाउँपालिका घोषणा महत्त्वपूर्ण उपलब्धि भएको भन्दै स्थानीय सरकार हरेक रूपमा बालबालिकाको हितमा लागिपर्नुपर्ने बताउनुभयो ।
सभामा बालमैत्री सहजकर्ता शर्मिला पौडेल, बगनासकाली गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पा पूर्व अध्यक्ष गोविन्द भट्टराई, कोषाध्यक्ष मिलन वि.क. बगनासकाली पत्रकार समूहका सह संयोजक भोजराज तिमिल्सिना लगायतले लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा बगनासकाली गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाई हासिल गर्न सक्ने बताउनुभयो ।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल बनाएर अभियानलाई अगाडि बढाएको फोकल पर्सन गुनाराम खनालले जानकारी दिनुभयो । पालिकाले बालमैत्री वातावरण निर्माणको लागि ९ वार्डमा ९५ वटा बालक्लव गठन गरेको छ । अभियानको क्रममा गाउँपालिकाले सवै विद्यालयलाई यस अघि नै पूर्ण वालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा, ५ वर्षका मुनिका बालबालिकाको शतप्रतिशत जन्मदर्ताका सूचकमा शतप्रतिशत काम सकिसकेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिकाले बालमैत्री रणनीति दीगोपना सुनिश्चितताको लागि घरदैलो कार्यक्रम, जनचेतना, प्रचार प्रसार र सरोकारवालाको साथ लिएर निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने उपाध्यक्ष सरस्वती चिदी दर्लामीले बताउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा भएको घोषणा सभामा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, बालक्लव, बालसञ्जालका पदाधिकारी, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक लगायत सरोकारवालाहरूको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*