आजदेखि मेलम्चीको पानी उपत्यकावासीको धारामा

खबरपथ संवाददाता
१५ चैत्र २०७७, आईतवार ११:५१

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आज (आइतबार) देखि काठमाडौं उपत्यकावासीको धारामा वितरण हुँदैछ ।

मेलम्ची आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ।

मेलम्चीको पानी पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) कै वितरण प्रणालीमार्फत उपभोक्ताको धारामा पुग्ने व्यवस्था गरिएको छ ।

१७ करोड लिटर क्षमताको यो आयोजना पूर्णरूपमा सञ्चालनमा आउन भने कम्तीमा २० दिन लाग्नेछ ।

परीक्षण अवधिमा उपत्यकामा रहेका रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै पानी वितरणको तयारी भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग मार्फत गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*