नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

खबरपथ संवाददाता
२९ चैत्र २०७७, आईतवार ०६:५०

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सकिएको मतगणना अनुसार प्रेस युनियन नेपाल,  प्रेस संगठन नेपाल र  प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

ओली समूह निकट प्रेस चौतारी,  प्रेस मञ्च,  जनपत्रकार संघ सहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् ।

पदाधिकारीमा विपुल कै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिएका छन् ।

महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

जित पश्चात अध्यक्ष पोख्रेलले पत्रकारहरूले आफ्नो संस्था ठान्ने गरी श्रमजीवी पत्रकारको हित र प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने बताए।

‘यो कसैको विजय र पराजय हैन। निर्वाचनका सन्दर्भमा भएका गठबन्धन चुनाव जित्ने रणनीतिका रुपमा भएका हुन्, समग्रतामा जसले जिते पनि पत्रकार, पत्रकारिताको हितसँग सम्बन्धित सबै एजेन्डामा सबै साथीसँग छलफल भएका छन्,’ पोख्रेलले भने, ‘मैले समग्र पत्रकारितालाई नयाँ उचाइको रुपमा लैजाने अवसरको रुपमा लिएको छु।’

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

हेर्नुहोस् तालिका :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*