वैशाख ११ गते धरहरा उद्घाटनको तयारी
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सोमबार राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उहाँले भूकम्प सङ्ग्रहालय लगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी गराउनुभयो ।
भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्प पछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको ज्ञवालीको भनाइ थियो ।





















