प्युठानमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

खबरपथ संवाददाता
१ बैशाख २०७८, बुधबार १६:१८

बुटवल । स्वर्गद्धारी दर्शनमा हिडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्धारी  नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले जनाएको छ ।

जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवार सहित १६ जना सवार थिए ।  घटनामा ११ जना घाइते छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार चार जनाको अवस्था गम्भीर रहेको छ ।

जीप घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*