शुक्रबारदेखि पशुपतिनाथ दर्शनमा रोक

खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार २०:४२

काठमाडौँ । विश्‍वभर फैलिदै गइरहेको कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्‍यानमा राख्‍दै शुक्रबार देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै वैशाख १० गते शुक्रबार देखि लागू हुने गरी पशुपतिनाथ सहितका मन्दिरमा नित्‍य पूजाबाहेक अन्‍य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो ।

कोषका कोषाध्‍यक्ष डा.मिलन कुमार थापा द्वारा जारी ‘अत्यन्त जारी सूचना’मा भनिएको छ, ‘विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण नेपालमा समेत बढ्‍दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम २०७८ साल वैशाख १० गतेबाट अर्को व्‍यवस्था नभएको सम्‍मको लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्‍येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्‍य पूजा बाहेक अन्‍य क्रियाकलाप गर्न नपाउने गरी व्‍यवस्था मिलाइएको सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसबाट भक्तजनमा पर्न गएको असुविधा प्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*