रुपन्देहीको मोक्षधाममा चारधाम सहित रामजानकी मन्दिर र बौद्ध स्तुपा शिलान्यास

खबरपथ संवाददाता
१२ बैशाख २०७८, आईतवार १७:४५

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धाम सहित नेपालका रामजानकी र लुम्बिनी बौद्ध स्तुपाको शिलान्यास गरिएको छ । पुराणमा उल्लेख भए अनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरि चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपाको शिलान्यास गरिएको हो ।

पूर्वाधार निर्माणमा एक अर्बभन्दा बढी लागत अनुमान गरिएको ती मन्दिरहरुको पूर्वमन्त्री तथा प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा बोल्दै प्रमुख सचेतक खाँणले मोक्षधामको पूर्णताले त्यस क्षेत्रको मात्रै नभएर सिंगो रुपन्देही र आसपासका जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसकालागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोगको समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर पृथ्वीमा स्वर्गको अभाष हुने परिकल्पना गरिएको मोक्षधाममा ती धाम सहित विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी गराउनु भयो ।

ती ६ वटा धाम निर्माणको लागि करिव १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । शिलान्यास कार्यक्रममा सन्त महन्त, जनप्रतिनीधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनहरुको सहभागिता रहेको थियो ।

त्यस्तैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, १ हजार १०८ शिवलिंग द्वादश ज्योतिर्लिङग सहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्संग कक्ष) भवन, बृद्धा तथा बाल आश्रम, शभा हलको समेत उद्घाटन गरिएको छ । अनेकौं देवीदेवताहरुको विग्रह स्थापना गरि शनातन वैदिक धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरिएको थियो । २०७२ देखि निर्माण सुरु गरिएको मोक्षधाम सेवा आश्रममा हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंग तथा १ हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा बृद्धाश्रम, मुक्तिनाथ मन्दिर, सभा हल निर्माण गरिसकिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैंया खर्च भएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*