टिपरले बसलाई ठक्कर दिंदा दुई बालिकाको मृत्यु
बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थल मै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।
टिप्परले ठक्कर दिएपछि हुत्तिएको बसले अगाडी पट्टी रहेको अर्को लु १ ख ५७८६ नम्बरको बस र लु २ च ७०१२ नम्बरको बलेरो जिपलाइ समेत ठक्कर दिन पुगेको थियो । बलेरो र अर्को बसका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।





















