रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेध आज्ञा जारी
बुटवल । रुपन्देहीमा बैशाख १६ गते बिहिबार देखि निषेध आज्ञा जारी गरिएको छ । कोरोना भाईरसको संक्रमण बढदै गएको अवस्थालाई मध्यनजर गर्दे बुधबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बैशाख १६ गते बिहान ६ बजे देखि बैशाख ३० गते बिहान ६ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेका छन् । मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको निषेधाज्ञा आदेशमा कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न रोक लगाइएको छ । आदेशमा सबै प्रकारका सभा सञ्चालन गर्न, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्युटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ भने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न समेत निषेध गरिएको छ ।
जारी निष्ोधआज्ञामा उक्त अवधिभर शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा भने सुचारु रहेने उल्लेख गरएको छ ।
अति आवश्यकीय सामग्रीहरू खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दूध लगायत दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले ब्यवस्था मिलाउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । प्रशासनले निषेधाज्ञाका बखत वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूलाई कडा कारवाही गर्ने निर्णय भएको समेत बताईएको छ ।























