रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु
बुटवल । रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बुधबार जारी गरेको आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञा वैशाख १६ गते बिहान ६ बजेदेखि ३० गते बिहान ६ बजेसम्म जारी गरिएको छ । अत्यावश्यक सेवा अन्तर्गत खाद्य , सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।
ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् । त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा चल्न पाउनेछन् ।
सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई एयरपोर्ट जाने पाउने छन् ।
जारी आदेशमा सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।





















