सैनामैनाको कोभिड अस्पतालमा संक्रमितले गरे आत्महत्या
बुटवल । रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।
वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’
तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।





















