बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार करिब १ : ४५ मा न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिए पछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।
वि.सं . १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।
उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।





















