सिद्धबाबा सुरुङमार्गका लागि टेण्डर आह्वान
बुटवल । बुटवल-तानसेन सडक अन्तर्गतको सिद्धबाबा सडक खण्डमा सुरुङमार्गका लागि टेण्डर आह्वान भएको छ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले आईतबार सुरुङ निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सडक विभागले ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको जानकारी दिएको छ ।
विभागका अनुसार स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्डर आह्वान गरिएको हो । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट जाली रहनेछ । आगामी ५ वर्षभित्र सुरुङमार्ग बनाइसक्नुपर्नेछ ।
अर्थमन्त्रालयले सुरुङमार्गको लागि १० अर्ब १५ करोड रुपैयाँ बजेट सीमा दिएको छ । सोही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ ।
यो सडक खण्ड हुँदै गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ र बेनीसम्म गाडी चल्ने गर्छन् । यस क्षेत्रमा जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरोका कारण धेरैले ज्यान गुमाउँदै आएका छन् । यस सडक हूदै दैनिक ५ हजारभन्दा बढी सवारी साधान आवत जावत गर्ने गर्दछन् ।
रुपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यन्तै जोखिमपूर्ण रहेको छ । सिद्धबाबा क्षेत्रमा सडक विभागले डबल लेनको सुरुङ्ग मार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको हो ।






















