भोलीदेखि नेपालमा चक्रवातको असर देखिने, हिमाल आरोहणमा सतर्क अपनाउन आग्रह
काठमाडौँ । भोली (मंगलबार) देखि देशका विभिन्न भूभागमा वर्षा , हावाहुरी र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ । बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा बनेको चक्रवातका कारण देशकका भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको हो ।
उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ । सो प्रणालीका कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्य देखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली-पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो , ‘बंगालको खाँडीमा चक्रवात बन्न सुरू भइसकेको छ । नेपालमा यसको प्रभावमा मंगलबारदेखि हुन्छ खासगरी पूर्वी तथा पश्चिमी भागमा भने बिहीबारदेखि प्रभाव देखिन्छ ।’
महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।
देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
यस मौसममा मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





















