उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागी थपियो
काठमाण्डौं । उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागी थपिएको छ । मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ २० गते राती १२:०० बजे सम्म कायम रहने निर्णय गरेको हो ।
भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
उनका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । उनले भने, ‘अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’
निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय गरिएको छ ।
निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय गरिएको छ ।
थप गरिएको निषेधाज्ञा जेठ १४ गते शुक्रबार बिहान १ बजेदेखि जेठ २० गते राती १२:०० बजे सम्म कायम रहने ललितपुर प्रजिअ निरौलाले बताए ।
अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गरिने भएको छ ।
























