आजदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोप लगाइँदै
काठमाडौँ। सरकारले आजदेखि चिनबाट अनुदानमा आएको भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागी लगाउँदैछ ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।
६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको खोप अन्तिम समयमा आएर ६२ देखि ६४ वर्षकालाई मात्रै दिने निर्णय भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठ देखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।
हिमाली जिल्लामा भने यस अघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकाले सो समूहकाले खोप लगाउन छुटेका भए खोप दिइने तयारी छ ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ ।
खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।





















