नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री थापालाई महासंघको ध्यानाकर्षण पत्र

खबरपथ संवाददाता
१ असार २०७८, मंगलवार ०६:४२

काठमाडौं । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको छ । महासंघमा भएको कार्यक्रममा मन्त्री थापाले पत्रकारका आम समस्या समाधान गर्ने र कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि पहल गर्ने बताउनुभयो । उहाँले पत्रकारलाई सरकारको कमिकमजोरी औल्यान आग्रह गर्दै सत्यतथ्य सूचनामा ध्यान दिन आग्रह गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
महासचिव रोसन पुरीले पत्रकार र सञ्चार क्षेत्रका समस्या समाधानका लागि मन्त्री थापालाई ध्यानाकर्षण गराउनुभयो । महासंघले गराएको ध्यानाकर्षण निम्नानुसार रहेको छ ।

माननीय मन्त्रीज्यू,
सबैभन्दा पहिले यहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
नेपाल पत्रकार महासंघले पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका तमाम समस्या समाधान गर्न नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयलाई विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएको र कतिपय मागहरुको सम्वोधन समेत हुँदै आएको स्मरण गराउन चाहन्छौं । यतिबेला कोरोना सक्रमण विरुद्ध सिंगो देश जुधिरहनु परेको अवस्थामा यसका विरुद्ध सञ्चार क्षेत्र पनि आ–आफ्नो तरिकाले भूमिका निर्वाह गरिरहेको यहाँलाई विदितै छ । पछिल्लो समय कोरोना संक्रमणकै कारण सञ्चार क्षेत्र र सञ्चारकर्मीले भोग्नुपरेका समस्या र त्यसको समाधानका सम्बन्धमा नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँदै निम्न अनुसारका विषय सम्वोधनका लागि अनुरोध गर्दछौं ।

१. कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको छ । समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गर्दछौं ।
२. पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको भ्याक्सिन सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन अनुरोध गर्दछौं ।

३. देशभर झण्डै १ हजार पत्रकारमा कोरोना संक्रमण भएको छ । २० जनाले ज्यान गुमाएका छन् । अहिले पनि २० जना पत्रकार उपचारको क्रममा छन् । ज्यान गुमाउने पत्रकारका परिवारलाई राहत र उपचारका क्रममा रहेका पत्रकारको निःशुल्क उपचारको व्यवस्थाका लागि आग्रह गर्दछौं ।

४. कोरोना संक्रमणको प्रभावले साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरु धरासायी हुदै गएका छन् । यो अवस्थालाई मध्यनजर गर्दै साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरुलाई जोगाउन हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकमलाई वृद्धि गर्नुपर्नेमा दिँदै आएको रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्ने भनी बजेट बक्तव्यमा आएको कुराले स्वारोजगारमूलक तथा साना लागानीका सञ्चार माध्ययमा निराशा पैदा गराएको छ । तसर्थ, लोककल्याणकारी विज्ञापनबाट १० प्रतिशत नकाटी थप ५० प्रतिशत वृद्धि गर्न आग्रह गर्दछौं ।

५. पत्रपत्रिकालाई प्रदान गरिदै आएको लोकल्याणकारी विज्ञापनबापतको रकम जिल्ला हुलाकमार्फत भुक्तानी दिँदै आएकोमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भुक्तानी प्रक्रियालाई अझै सहज बनाउन आग्रह गर्दछौं । कोभिडको समयमा समयमै पत्रिका प्रकाशन गर्न नसकेका कारण लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिएकोले विगत कोरोनाकालजस्तै एकैपटक प्रकाशन गर्न र भुक्तानीका लागि सहजीकरण गर्न माग गर्दछौं ।

६. प्रकृया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई यसै आ.व. देखि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन हुन आग्रह गर्दछौं । साथै, समानुपातिक विज्ञापन लागू गर्न माग गर्दछौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*