विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनु पर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु-याउनु पर्ने बताउनु भएको छ ।
मनसुनको शुरुवातसंगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्धारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो ।
विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उहाँले सुझाव दिनुभयो। विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गर्नुभयो ।
गृहमन्त्री खगराज अधिकारी,गृह सचिव महेश्वर न्यौपाने तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारी समक्ष शुक्रबार साँझ मनसुन जन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्धारा सञ्चालन गरिएका राहत एवं पुनस्र्थापनाका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो।
उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापा समेत सहभागी रहनुभएको थियो। प्रभावितको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीको राष्ट्रपतिले सराहना गर्नुभयो।
उक्त अवसरमा प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्धारा विपद् बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्य सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी गराइएको थियो । रासस





















