रुसलाई हराउँदै डेनमार्क अन्तिम १६ मा प्रवेश
काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुस माथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४-१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए ।
७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।
यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।
डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १-० ले र दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।
डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।
पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।






















