उपप्रधानमन्त्री पाैडेलद्धारा कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्धघाटन
बुटवल । नेपाल सरकारका उपप्रधान, गृह एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बुटवलमा स्थापना गरिएको कार्यालयको उद्धघाटन गर्नुभएको छ ।
कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापना भएको कार्यालयको शनिबार उद्धघाटन गर्दै उपप्रधान मन्त्री पौडेलले यस राष्ट्रिय गौरवको आयोजनाले सिंगो राष्ट्रको मुहार बदल्ने बताउनु भयो । पौडेलले आयोजना सम्पन्न गर्नका लागि श्रोत र दक्ष जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन कार्यालयको स्थापना गरिएको बताउँदै कालिगण्डकीको पानी तिनाउमा ल्याउने कुरा अब सपनाको कुरा नरहेको बताउनुभयो ।

उहाँले योजनाले लुम्बिनीका साथै मुलुक कै मुहार बदल्ने गेमचेन्जर प्रोजेक्ट भएको बताउनुभयो । उहाँले १५ वर्ष अगाडिको परिकल्पनाले मूर्त रुप लिन लागेको समेत बताउनुभयो ।
बुटवलको कालिकानगरमा स्थापना गरिएको कार्यालयले आगामी आर्थिक वर्ष भित्रमा परियोजनाको बिस्तृत प्रतिवेदन (डिपिआर) तयार गर्नेछ । यो कार्यालयको प्रमुख काम डिपिआर तयार गर्ने हो । आगामी आर्थिक वर्ष २०७८/७९ मा डिपिआरको काम सम्पन्न गरेर अर्को वर्ष देखि निर्माणको काम सुरु हुने कार्यालय प्रमुख सन्तोष कैनीले बताउनुभयो । परियोजनाको यस अगाडि नै पूर्व सम्भाव्यता अध्ययन भईसकेको छ ।
तिनाउ नदिको सभ्यताको लागि पनि कालिगण्डकी तिनाउ डाईभर्सन महत्वपूर्ण मानिएको छ । कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई पुर्याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने यस आयोजनाको प्रारम्भिक लक्ष्य छ । राम्दी पुलबाट २ दशमलब ३ किलोमिटर तल बाँध बनाएर प्रति सेकेण्ड ८२ घनमिटर पानी सुरुङमा खसालिनेछ । झण्डै २७ किलोमिटर लामो दुरीबाट उक्त पानी तिनाउ नदीमा खसालिने छ ।
राष्ट्रिय सिँचाई गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्ये यो यौटा ठूलो आयोजना हो । जसबाट पाल्पाको दोभानमा १ सय मेघावाट र बुटवलको बेलवासमा २६ मेघावाट गरी १२६ मेघावाट विद्युत उत्पादन हुनेछ । त्यस्तै रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुर्याउने लक्ष्य रहेको छ । सिँचाई र बिद्युतका लागि आयोजनामा १३८ अर्ब प्रारम्भिक लागत लाग्नेछ ।





















