तानसेनका ग्रामीण वडाका किसानलाई मिनि टिलर
पाल्पा । तानसेन नगरपालिकाले नगरपालिकाका ग्रामीण वडाका किसानलाई अनुदानमा मिनी टिलर (हाते ट्याक्टर) वितरण गरेको छ ।
नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईका अनुसार नगरप्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले ५० प्रतिशत अनुदानमा किसानलाई मिटी टिलर, कम्बाइन मिल र च्यापकटर गरी विहिबार ६१ थान वितरण गर्नुभएको हो । नगरप्रमुख शाहीले कृषिमा उन्नत प्रविधिमार्फत श्रम र लागत घटाई उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिटि टिलर वितरण गरिएको बताउनुभयो ।
यान्त्रिकरणमार्फत किसानको आयस्रोत वृद्धि गराउने उद्देश्यले नगरपालिकाले मिनिटिलर वितरण गरेको हो । तानसेन नरपालिकाका ग्रामीण वडामा रहेका कृषि समूह, सहकारीमार्फत आएका निवेदनका आधारमा मिनि टिलर वितरण गरिएको सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार तानसेन नगरपालिकामा दर्ता भएका ग्रामीण वडाका कृषि समूह तथा सहकारीले निवेदन दिएका थिए । वडाको सिफारिस, उत्पादनको क्षमता, समूहका आधारमा छनोट गरिएका कृषकलाई पहिलो चरणमा हाते ट्याक्टर दिइएको पशु शाखाका प्रमुख दानबहादुर कवँर मगरले जानकारी दिनुभयो ।
प्रदेशको शसर्त अनुदानका आधारमा कृषि यान्त्रीकरण सहयोगका लागि प्रदेस सरकारले १७ लाख ५० रुपैंया बजेट शसर्त हस्तान्तरण गरेको छ । किसानले सम्झौता गरेर खरीद गरेको रकममा ५० प्रतिशत रकम किसानलाई उपब्लध गराउने कवँरले बताउनुभयो ।





















