उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने,जोरबिजोर प्रणाली हट्यो
काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दे अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो । उपत्यकामा असार २२ गतेदेखि लागू हुने गरी जोर विजोर प्रणाली हटाइएको छ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यसैगरी उपत्यकामा अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।
त्यसैगरी सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।
खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनि रोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।
यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी विहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।





















