बगनासकालीमा कक्षा २ को स्थानीय पाठ्यक्रम तयार

भोजराज भट्टराई
३१ असार २०७८, बिहीबार २१:३०

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक निर्माणलाई निरन्तरता दिएको छ ।
यस अघि गत पौष महिनामा पहिलो चरणमा कक्षा १ को स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक निर्माण गरेको बगनासकालीले बिहिबार चालु शैक्षिक सत्र २०७८ देखि लागु हुने गरी दोस्रो चरणमा कक्षा २ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो बगनासकाली’ नामक पाठ्य पुस्तकको असार ३१ गते विहिबार गाउँपालिकामा एक सभाका विच सार्वजनिक गरिएको छ ।

शैक्षिक सत्र २०७७ सालमा कक्षा १ को लागि ‘हाम्रो बगनासकाली कक्षा १’ पाठ्यपुस्तक तयार पारेर लागु गरिसकेको बगनासकालीले ‘हाम्रो बगनासकाली कक्षा २’ तयार पारेका लागु गर्न लागेको हो । उक्त पाठ्य पुस्तक राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कूल १०० पूर्णाङ्क र पाठ्यभार ४० रहेको छ । यो पाठ्यपुस्तक कूल पाठ्यभारको २० प्रतिशत हो ।

‘हाम्रो बगनासकाली’ कक्षा २ को पाठ्यक्रममा बगनासकाली गाउँपालिकाको चिनारी, स्थानीय जात, जाति, भाषा र भेषभुषा, स्थानीय स्तरमा उत्पादित बाली र खानेकुराहरू, स्थानीय चाडपर्व, धर्म र संस्कृति समेटिएको सम्पादक दयाराज कँडेलले जानकारी दिनुभयो । उहाँले स्थानीय कला, सीप, प्रविधिका साथै प्रसिद्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू समेटिएको पुस्तकले बालबालिकामा आफ्नो भुगोलको वस्तुस्थिति थाहा हुने बताउनुभयो ।

पुस्तक विमोचन गर्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले शिक्षामा गुणस्तर वृद्धि गर्दै स्थानीय संस्कृति उजागर गर्न पाठ्यक्रमले सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले प्रचलित स्थानीय संस्कार, संस्कृति झल्किने पुस्तकले विद्यार्थीमा स्थानीय मौलिक संस्कृतिप्रति मोह जाग्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरे, प्रवक्ता लक्ष्मी अधिकारी, शिक्षा समितिका सदस्य एवम् वडा नं. ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिनाले भोलिको पुस्ताले आफ्नो धर्म संस्कृति संरक्षण गर्न आफ्नो मौलिकता भुल्न नहुनेमा जोड दिनुभयो । पालिकाले स्थानीय पेशा व्यवसाय, प्राकृतिक स्रोत तथा साधन, स्वास्थ्य, सरसफाईसहितका विषयवस्तु समावेश गरेर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकले सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण कम गर्न सहयोग पुग्ने शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो ।
पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले शिक्षक दयाराज कँडेलको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरको पाठ्यक्रममा स्थानीय विषय पनि समेट्नुपर्ने उल्लेख छ । आधारभूत तहको ८ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान छ । सोही अनुसार बगनासकाली गाउँपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको शाखा प्रमुख खनालको भनाई छ । पालिकाले स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिदै जाने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*