भीम रावलले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार दिउँसो रावलले सिंहदबारस्थित संसद सचिवालयमा आफ्नो राजीनामा पत्र दर्ता गराएका हुन ।
रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।
रावलले ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनु भन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।
सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।























