बगनासकालीका वार्डहरूमा सामाजिक सुरक्षा सचेतना कार्यक्रम

भोजराज भट्टराई
१५ श्रावण २०७८, शुक्रबार १८:१७

पाल्पा  । बगनासकाली गाउँपालिकाका वार्डहरूमा सामाजिक सुरक्षा कार्यक्रमको सचेतना अभियान सञ्चालन भइरहेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत पालिकामा रहेको सेवा इकाइले जनप्रतिनिधि र वार्डका कर्मचारीको लागि सामाजिक सुरक्षा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउने उद्देश्य सहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिले सामाजिक सुरक्षा कार्यक्रमबारे अस्पष्टता कम गर्न, लाभग्राहीलाई सहज र सरल ढंगले सेवा दिलाउन कार्यक्रमले सहयोग गर्ने धारणा राख्नुभयो । छलफलमा सामाजिक सुरक्षा कार्यक्रम, लाभग्राहीले नाम दर्ता र नविकरण गर्ने प्रक्रिया, सामाजिक सुरक्षा भत्ताको निमित्त आवश्यक मापदण्ड, नविकरणका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा सेवा इकाइका एम.आइ.एस. अपरेटर भोजराज भट्टराई र एम.आइ.एस. फिल्ड सहायक प्रेमबहादुर बगालेले सहजीकरण गर्नुभएको छ ।

शुक्रबारसम्म पालिकाको वडा नं. १ चिर्तुङ्धारा, वडा नं. ७ खानिगाउँ, वडा नं. ८, बराङ्दी, वडा नं. ९ चापपानी र वडा नं. ४ खानीछापमा छलफल कार्यक्रम सम्पन्न भएको एम आइ एस फिल्ड सहायक प्रेम बगालेले बताउनुभयो । उहाँले सवै वार्डमा सामाजिक सुरक्षा नविकरणको लागि व्यानर, लिफलेट, ब्रोसर लगायतका प्रचारप्रसार सामग्री सहित अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

छलफलमा सहभागी निर्वाचित जनप्रतिनिधि, वार्डका कर्मचारीले बैंङ्कीङ्ग प्रणालीको अभ्यासको कमी भएका कारण लाभग्राहीले भुक्तानी प्रक्रियामा दुःख पाउने गरेको, गुनासो सुनुवाईको अभिलेखको अभ्यास कम भएको र वार्डमा समयमा नवीकरण नगर्दा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य केही लाभग्राही छुट्ने गरेको भनाई राख्नुभयो । समयमै नवीकरण गराउन, बैंकिङ्ग प्रणालीबाट कारोबारमा अभ्यास बढाउन र नीतिगत व्यवस्थाका विषयमा प्रष्ट हुन छलफलले सहयोग गरेको सहभागीको भनाई थियो ।

श्रावण १ देखि भाद्र मसान्तभित्रमा जेष्ठ नागरिक, एकल महिला, असक्त/अपाङ्ग, लोपोन्मुख जाती, बाललिकाको सामाजिक सुरक्षा परिचय पत्र नविकरण गर्न गाउँपालिकाले वार्डका लाभाग्राहीमा अनुरोध गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र लिएर आफ्नो स्थायी ठेगाना रहेको वडामा लाभग्राही स्वयम् वा संरक्षक/माथवरको उपस्थितिमा नाम नविकरण गराउन सकिने भन्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीलाई नयाँ नामावलीमा सूचिकृत हुन आ – आफ्नो वडामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*