कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिनु भएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
झण्डै एक वर्षअघि कार्यकाल पुरा भए पछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने चौतर्फी आवाज उठेको थियो ।





















