सुनौलो बिहानी कृषक समूहको दोस्रो साधारण सभा सम्पन्न
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्धारामा रहेको सुनौलो बिहानी कृषक समूहले बिहिबार दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।
कृषक समूहका अध्यक्ष टंकबहादुर गाहाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाअध्यक्ष सोमबहादुर झेंडीले आधुनिक कृषि प्रविधिको प्रयोग गरी कृषि उत्पादनलाई बढाउन कृषकहरूलाई आग्रह गर्नुभयो । उहाँले वडामा २६ वटा कृषक समूह रहेकोमा सुनौलो बिहानी कृषक समूह सक्रिय रहेको भन्दै कृषकको प्रवद्र्धनको लागि वडाले सक्दो सहयोग र समन्वय गर्ने वचन दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै सामाजिक स्रोत विकास केन्द्र पाल्पाका कार्यकारी निर्देशक चोपलाल गिरीले कृषिमा आधुनिकीकरणका नाममा राज्यको धेरै लगानी भएपनि सानाकिसान केन्द्रीत नीति र कार्यक्रम हुन नसकेको बताउनुभयो । उहाँले बालीनाली सुधारका लागि कृषकलाई स्थानीय सरकारले सहयोग र सुरक्षा दिनुपर्नेमा जोड दिनुभयो । साना किसानमैत्री नीति र कार्यक्रम भएमात्र वडास्तरीय साना कृषक समूह सक्रिय र व्यवसायिक बन्न सक्ने गिरीको भनाइ थियो

कृषक समूहको आर्थिक वर्ष २०७७।०७८ को १ लाख १५ हजार रुपैंया बराबरको आय व्यय समूहका सदस्य ढालबहादुर चिदीले प्रस्तुत गर्नुभयो । एक घर एक करेसावारी, किसानको सीप विकास र उन्नत पशुपालनमा केन्द्रीत रहेको समुहले कृषी सहकारीसमेत सञ्चालन गरेको चिदीले जानकारी दिनुभयो ।
समुहका सदस्य दानबहादुर डम्बरपालले परम्परागत, निर्वाहमुखीबाट उत्पादन बढाउन सके बजारीकरणको समस्या नरहेकोले व्यवसायिक कृषि उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
२०७२ सालमा ३९ जना सक्रिय सदस्यसहित सञ्चालन भएको समूहमा हाल १८ जना व्यवसायिक कृषक रहेको अध्यक्ष टंकबहादुर गाहाले बताउनुभयो । उहाँले वडा, पालिका, प्रदेश र संघ र विभिन्न दातृ संघ संस्थाबाट समूहलाई अनुदान उपलब्ध भएकोले कृषकहरू व्यवसायिक कृषिमा आकर्षित हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगाना, स्वतन्त्र पत्रकार संघका अध्यक्ष भोजराज भट्टराई, कृषि शाखा प्रमुख राजेश बोहरा लगायतले पकेट क्षेत्रविस्तार गरी व्यवसायिक कृषिमा लाग्न सुझाव दिनुभयो । सुनौलो बिहानी कृषक समूहका उपाध्यक्ष शेरबहादुर दिसाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमला ताम्राकारले गर्नुभएको थियो ।





















