मनकामना मन्दिर आज देखि सर्वसाधारणका लागि खुला
बुटवल । नेपालको प्रसिद्ध धार्मिक गन्तव्य गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आज बुधबार देखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि बन्द रहेको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूलपुजारी इन्सान बहादुर थापा मगरले बताए ।
मनकामना क्षेत्र विकास समितिले सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि समेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरे सँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको उनले बताए ।
‘बुधबार बिहान नियमित रूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।’
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइएको उनले बताए । चार महिनापछि मन्दिर खुला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए ।
मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्था समेत गरिएको उनको भनाइ छ ।
मन्दिर पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसर मै हेल्थ डेस्क समेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापामगरले जानकारी दिए । मनकामना केबलकार भने केही दिन अघिदेखि नै सञ्चालनमा आइसकेको छ ।
यसैबीच कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ ।





















