प्रहरी निरीक्षक रिजाल सहित तीन जनालाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड
वुटवल । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक दिवाकर रिजाल सहित तिन जना प्रहरी अधिकारीहरु जिल्लाकै सर्वोत्कृष्ट घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजाल सहित तीन जना प्रहरी अधिकारीहरुलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको हो । सर्वोत्कृष्ट घोषित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले शनिवार नगद पुरस्कार सहित सम्मान गरेका हुन् ।
पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीहरुमा ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावल रहेका छन् ।
इन्स्पेक्टर रिजाल सहित तीनै जना प्रहरी अधिकारीहरुले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागू औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।
एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।





















