समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्छ – अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनु पर्ने बताउनु भएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नु हुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनु पर्ने बताउनु भएको हो ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्म लगायत बगैँचा सहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भन्नु भयो, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनु भयो । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्नु हुँदै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुने समेत उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नु भन्दा मेगा विद्यालय बनाउनु पर्ने बताउनु भएको छ । उहाँले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनु हुँदै सो धारणा राख्नु भएको हो । ‘अब ठुलो/मेगा विद्यालय बनाउनु पर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ उहाँले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सो अनुसार केन्द्रिकृत गर्नुपर्ने बताउनु भएको हो । पछिल्लो समय केही स्थान बाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने उहाँको भनाइ छ ।
शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिनुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो । प्रचण्डपथ त्यागे कै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताउनुभयो । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ’, उहाँले भन्नुभयो, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यति बेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’ प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रिकरण गरेको बताउनु हुँदै उहाँले त्यो त्याग्ना साथ पार्टीमा विभाजन भएको बताउनु भयो ।






















