पत्रकार महिलाहरुले भोग्नु परेको समस्याका बारेमा अन्तरक्रिया आयोजना
काठमाडौं । नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार महिलाहरुले भोग्नु परेको समस्याका बारेमा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार महिलासंग अन्तरक्रिया गरेको छ ।
नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले महिला पत्रकारहरु क्षेमतावान हुदाँहुदै पनि सञ्चारगृहमा नेतृत्व तहमा स्थान नदिनु दुखद भएको बताउनुभयो । उहाँले पत्रकार महिलाहरुको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिमा ध्यान दिन महासंघलाई आग्रह गर्नु भयो । यसैगरी उहाँले अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न महासंघले पहल गर्नुपर्नेमा जोड दिंदै ठुलो संख्यामा महिला पत्रकार अनलाइन पत्रकारितामा जोडिएकाले वर्गिकरणको प्रक्रियामा लैजान ढिलो भयो भन्नुभयो ।
नेपाल पत्रकार महासंघकी सचिव सृजना अर्यालले पत्रकार महिलाहरुले भोग्नु परेका समस्याहरुको पहिचान गरी न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्यहरु सरिता बराइली, ललिता साहले महासंघ पत्रकारको पेशागत एवं भौतिक सुरक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले महिला भएकै कारण सञ्चारगृहमा आफुहरुले विभेद भोग्नु परेको बताउनु भएको थियो । उहाँहरुले पत्रकार महिलाहरुले पाउने सेवा सुविधा, जिम्मेवारी साथै आफुहरु माथि हेर्ने दृष्टिकोणमा समेत विभेद रहेको बताउनु भएको थियो ।
महिला पत्रकारले पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संगठन भएकाले आफुहरुले महासंघबाट ठुलो आशा राखेको बताए । पत्रकार महिलालाई पत्रकारिता भर्खर शुरु गर्न लागेकालाई आधारभुत, मिड करिअर लाई एडभान्स र केही पत्रकारलाई विशिष्ट प्रकारको तालिम दिनु पर्ने आवश्यकता औंल्याए । त्यसैगरी महिला स्वयंले चलाएका मिडियालाई विशेष सहुलियतको जरुरी रहेको प्रति पनि महिला पत्रकारले ध्यानाकर्षण गराएका थिए ।





















