पार्टीमा गुटबन्दी र भागबन्डाको अन्त्य गर्छाैँ : महामन्त्री थापा
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाको अन्त्य गर्ने बताउनु भएको छ । सोमवार अर्घाखाँचीको पाणिनि गाउँपालिका दुर्गाफाँटमा आयोजित आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधान सम्मत पार्टी चलाउने बताउनुभएको हो ।
गरिबीको रेखामुनी रहेका जनतालाई कसरी माथि उकास्ने तथा बेरोजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताउदै महामन्त्री थापाले कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने बताउनुभयो ।
महामन्त्रीमा निर्वाचित भए पछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र संघको चुनाव मंसिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले केपी ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाउदै नागरिकको बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पार्टी जस्तो सुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने बताउनुभयो । अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उहाँले दाबी गर्नुभयो ।

यसैबीच नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गर्नुभएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष गौतम सोमबार कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
गौतमलाई एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा स्वागत गर्नुभएको हो । उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय कांग्रेस प्रवेश गरेको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ ।






















