रङ्गीन पर्व होली एवं फागुपूर्णिमा

चक्रपाणी डुम्रे (शास्त्री)
३ चैत्र २०७८, बिहीबार १३:१५

प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा होली पूर्णिमा मनाइन्छ । यो पर्व नेपाल , भारत तथा अन्य राष्ट्र मा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

यो चाड वसन्त ऋतुको फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबैहोलीको रङ्ग लगाउदै मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै- नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक- अर्कासित मिल्छन् ।

यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँ को वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युग मा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षस को जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णु ले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । फागुपुर्णिमा बर्तमानलाई सर्वस्व ठानेर नवीन आशा एवम् उत्साहको संचार गर्दै हरेक पल सुखमय ढंगले व्यतीत गर्नु पर्छ भन्ने मान्यता राख्ने पर्व हो। पुराना रिस ,राग , द्वेष र क्लेसलाई बिर्सेर नयाँ उत्साह र उमंग संचार गर्ने पर्व हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*