मंगलापुर–कान्छीबजार सडक स्तरोन्नती प्राथमिकतामा : खाँण

खबरपथ संवाददाता
१९ बैशाख २०७९, सोमबार ०७:२७

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा गठबन्धनबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले जीर्ण अवस्थामा रहेको मंगललापुर–कान्छि बजार सडकलाई स्तरोन्नती गरिने बताउनु भएको छ ।
आईतबार तिलोत्तमा वडा नम्बर ७ सेमरा बजारमा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार खाँणले यो क्षेत्रमा सडकको बेहाल अवस्था हुदा जनताले दुख पाएको उल्लेख गर्नुभयो ।
उहांले भन्नुभयो – ‘अब तपाइहरुले सडकका कारण दुख पाउनु पर्दैन, हामीलाइ चुनाव जिताएर पठाउनुस् ,सडकको स्तरोन्नती हामी गर्छाै ।’
एमालेले चुनाव जित्दा सरकार चलाउन पनि नसकेको र प्रतिपक्षमा बसेर पनि सही काम गर्न नसेकेको भन्दै उहांले तिलोत्तमामा एडिबिले बनाएको मुख्य सडक बाहेकका सबै सडकको अवस्था बेहाल र जीर्ण भएको बताउनुभयो ।
तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने गरि आफुहरुले नयां प्रतिबद्धता पत्र सार्बजनिक गरेको भन्दै उहांले तिलोत्तमाको समग्र बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । उहांले तिलोत्तमामा एमाले नेतृत्वको सरकारले कृषि अनुदानको क्रममा नक्कली गुणस्तरहिन बिउहरु(धान, गहुँ, मकै, आलु लगायत) बितरण गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउँदै आफुले भ्रष्टाचारलाई जरैदेखी उखेलेर फाल्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार हेमलाल पाण्डे (हेमन्त) ले एमाले नेतृत्वको तिलोत्तमाले घोषणापत्र अुनसारको कुनै पनि काम नगरेको टिप्पणि गर्नुभयो । उहांले जनप्रतिनिधिहरू आफुलाई राजा सम्झने गरेको र एमाले कार्यकर्ताका मात्रै काम गरेको आरोप लगाउनु भयो । उहांले गठबन्धन निर्वाचित भए पछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष पदका उम्मेद्वार दिनमणी पंगेनीले वडामा सेवा लिने क्रममा एमाले नेतृवको वडा अध्यक्षले भेदभाव गरेको गुनासो गर्नुभयो । नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार बनेका पंगेनीले आफू निर्वाचित भए पछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महसमिति सदस्य रोमणी पाठकले गठबन्धन सामान्य परिवेशमा बनेको नभई देशको बिशेष परिस्थितिले निर्माण भएको हुंदा कांग्रेस कार्यकर्ताले गठबन्धनमा घात गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा माओबादी तिलोत्तमा नगर अध्यक्ष बेल प्रसाद शर्मा, माओवादी केन्द्रका नेता सुदिप न्यौपाने, लगायतले बोल्दै गठवन्धनको जित सुनिश्चित भएको बताउनुभयो ।
तिलोत्तमा ७ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनमणी पंगेनी, वडा सदस्यपदका उम्मेद्वारहरु राम प्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का) रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले छाडेर ५० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस रुपन्देही सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले पार्टिमा प्रवेश गराएका हुन् ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ७, ८ र ९ मा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो गरेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, उपमेयर पदका उम्मेदवार हेमन्त पाण्डे, ७ मा वडा अध्यक्ष पदका उम्मेदवार दिनमणी पंगेनी, वडा सदस्य पदका उम्मेद्वारहरु रामप्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का)ले संयुक्त रुपमा घरदैलो तथा कोणसभा गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवारहरुसंग मतदाताले आफ्ना समस्याहरु सुनाएका थिए । भने मतदाताका समस्याप्रति घरदैलोमा पुगेका उम्मेदवारहरुले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*