नवनिर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण

खबरपथ संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १९:४७

लमजुङ । लमजुङको सदरमुकाम बेँसीशहरमा रहेको बेँसीशहर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित पश्चात् पदभार ग्रहण गर्दै बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै समृद्धि पालिका बनाउने बताए ।

शुक्रबार दोस्रो कार्यकालको पदभार समाल्दै अशिक्षा र गरिबीका कारण विकास नहुने भएकाले त्यस्ता नागरिकको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्ने बताए । उनले फोहोर व्यवस्थापनमा समस्या भएको र आफ्नो पहिलो कार्यकालमा समाधान गर्नका लागि चार करोड बढी लगानीमा ठेक्का गर्न लागे पनि ठेकेदार नआएकाले व्यवस्थापन हुन नसके पनि अब समाधान गर्नेतर्फ अघि बढ्ने उनको भनाई छ ।

त्यस्तै, उनले जातीय छुवाछुत र सामाजिक विभेदको अन्त्य गर्न ठूलो बजेट विनियोजन गरेर अघि बढ्ने बताए । उनले आम जनताले नगरपालिकालाई हेर्ने दृष्टिकोण राम्रो नभएको र पालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताउँदै आफूले पनि एक रुपैयाँ कानुन विपरीत नगर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि नगर्न आग्रह गरे ।

नगरपालिकालाई पारदर्शी, अनुशासित बनाउने, व्यवस्थित ढंगबाट अघि बढाउन सबै एकजुट हुनलाई उनले आग्रह गरे । त्यस्तै, नवनिर्वाचित उपप्रमुख पद्मा गुरुङले पालिकाको महिला, बालबालिका, गरिबी, अपांगता भएका व्यक्ति लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*