रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व

खबरपथ संवाददाता
८ जेष्ठ २०७९, आईतवार १७:११

बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेले पालिका प्रमुख गुमाए पनि उपप्रमुखमा भने बहुमत स्थानमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा जितेका स्थानमा पनि यसपटक एमालेले पराजय भोग्नु पर्‍यो । प्रमुखमा एमालेले हारेकै स्थानमा पनि उपप्रमुख महिलाले भने जित हात पारेका छन् ।

उपप्रमुखमा तीनवटा नगरमा महिलाले साख जोगाएका छन् । रुपन्देहीमा एक उपमहानगरपालिका सहित ६ नगरपालिका छन् । ती सबैमा एमालेका महिला नेतृ उपप्रमुखमा निर्वाचित भएका छन् ।

उनीहरूले स्थानीय सरकार सञ्चालन ऐनको निर्देशन अनुसार भौतिक विकास मात्र होइन मानवीय विकासका लागि पनि व्यावहारिक योजना बनाएर लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “पार्टीले प्रमुख पद गुमाए पनि त्यसको अनुभूति नहुने गरी काम गर्नेछौं,” सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भनिन्, “नमुना काम गरेर देखाउने छौं ।”

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिकामा एमालेबाट उम्मेदवारी दिएका महिला उपप्रमुखहरू विजयी भइसकेका छन् । मतगणता भइरहेको तिलोत्तमामा जित्ने निश्चित प्रायः छ ।

एमालेले यसपटक ६ नगरमध्ये चारवटामा प्रमुख पद बचाउन सकेन । गठबन्धन बनाएर चुनावमा उत्रेको कांग्रेसले ती नगरका प्रमुख पद जितेको छ । प्रमुखले हारेका स्थानमा पनि एमालेका महिला उम्मेदवारले उपप्रमुख पद भने जितेका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिने बुटवल उपमहानगरपालिकाको प्रमुखमा एमालेका बाबुराम भट्टराईले सात हजार ५३३ मतले चुनाव हारे । यही नगरमा उपप्रमुखमा सावित्रादेवी अर्यालले भने एकीकृत समाजवादीका चीन बहादुर गुरुङलाई सात हजार ९२४ मतले पछाडि पारिन् । “महिला भएका कारण महिला मतदाताहरू त पक्षधर थिए नै । मैले राजनीतिक क्षेत्र मात्र होइन शिक्षा, सामाजिक र सञ्चार क्षेत्रमा गरेको योगदानको पनि कदर भयो भन्ने लाग्छ,” अर्यालले भनिन् ।

सिद्धार्थनगर नगरपालिकामा प्रमुख पद एमालेले गुमायो । तर उपप्रमुखमा उमा अधिकारीले करिब दुई हजार ३०० मत अन्तरले जित हासिल गरिन् । एमालेको प्रभाव क्षेत्र मानिने सैनामैना नगरपालिकामा प्रमुख पद जोगिएन । उपप्रमुखमा विना रानाले भने दोस्रो कार्यकालका लागि समेत आफूलाई अब्बल सावित गरिन् ।

देवदह नगरपालिकाकी विद्यालक्ष्मी गुरुङले दोस्रो कार्यकालका लागि जित हासिल गरिन् । प्रमुखका लागि दाबी गरे पनि नपाए पछि उनी उपप्रमुख मै उठेकी थिइन् । यद्यपि यस नगरपालिकामा प्रमुख पद पनि एमालेले जितेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेसले जित्दा उपप्रमुखमा एमालेकी कल्पना हरिजन विजयी भइन् । २८ वर्षीया दलित महिला युवाको प्रतिनिधित्व गर्दै उनी चुनावमा होमिएकी थिइन् ।

मतगणना भइरहेको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार जगेश्वरदेवी चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका उम्मेदवार हेमलाल पाण्डेभन्दा करिब चार हजार मतले अगाडि छन् । दोस्रो कार्यकालका लागि उपप्रमुखमा उम्मेदवारी दिएकी उनको जित्ने आधार तय भइसकेको छ ।

त्यस्तै गैंडहवा गाउँपालिका उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी माधुरी जैसवाल विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी मन्जु न्यौपानेलाई हराएकी हुन् । शुद्धोधन गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भएकी छन् । गाउँपालिका अध्यक्षमा का‌ग्रेसबाट विष्णुप्रसाद बस्याल विजयी हुँदा उपाध्यक्षमा ज्ञवालीले चुनाव जितेकी हुन् । उनले गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शारदा भुसाललाई पराजित गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*