तिलोत्तमाका मेयर खाँणको पहिलो निर्णय : बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने

खबरपथ संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार २३:२७

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित मेयर खाँणलाई पद तथा गोपनीयताको शपथ खवाउनु भएको थियो । सोही अवसरमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पनि मुख्य निर्वाचन अधिकृत धनसिंह महराबाट पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत महरा, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बधाइ तथा शुभकामना दिँदै जनचाहाना अनुरुप काम गरेर अब्बल भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

शासक होइन, सेवक भएर काम गर्छुः खाँण

शुक्रबारै पदभार ग्रहण गर्दै तिलोत्तमाका मेयर खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । तिलोत्तमालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त नगर बनाउने प्रतिबद्धता गर्दै खांडले शासकको रुपमा नभइ जनताको सेवक बनेर नगरको विकासमा लाग्ने बताउनुभयो। नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र पारदर्शी बनाउँदै सुशासन कायम गर्ने उहाँले बताउनुभयो । सहमति, सहकार्य र एकतालाई मुल मन्त्र बनाउने र सबै दलहरुलाई समेटेर अगाडि बढ्ने खाँणले बताउनुभयो।

नगरका सबै वडा, टोलरबस्तीको समानुपातिक विकासका लागि अध्ययन गरी विज्ञ समूह, राजनीतिक दल तथा आम नगरबासीको सुझाव सहयोग र सहकार्यबाटै अगाडि बढ्ने खांडले बताउनुभयो। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन, सिँचाइ, मल, विउविजन जस्ता विकासका आधारभूत पक्षलाई जोड दिइने बताउनुभयो। नगरबासीको हितमा संचालित योजनाहरुको निरन्तरता संगै नगरका जनताको हित र आवश्यकता अनुरुपका नयाँ र महत्वपूर्ण योजना ल्याउने बताउनुभयो।

तिलोत्तमा कृषि, औधोगिक र पर्यटकीय सम्भावना बोकेको नगर भएकाले सहमति सहकार्य र एकताबाटै विकास र समृद्धिको यात्रामा यसलाई रुपान्तरण गरिनेमा जोड दिनुभयो। मेयर खाँणले उपमेयर जगेश्वरदेवी चौधरी र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउन ुभएको थियो । पदभार ग्रहणका क्रममा खाँणले नगरपालिका कार्यालय परिषरमा रुद्राक्ष र तराइमा फल्ने स्याउको बिरुवा रोपेर नगरलाई हरियाली नगर बनाउने पनि बताउनुभयो। सोही कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खाँणले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर नगरको विकासमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्वतमान नगरप्रमुख बासुदेव घिमिरेले बधाइ सुभकामना दिँदै नगर र नगरबासीको हितकालागि आफ्नो रचनात्मक सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बालबालिकाको खाजा खर्चमा नगरपालिकाले १० रुपैयाँ दिने

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पदभार ग्रहण गर्दै देशको भविष्यसंग जोडिएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा विशेष ध्यान दिँदै दिवा खाजा वापतको रकम वृद्धि गर्ने निर्णय गर्नुभएको छ । बालबालिकाको स्वास्थ्य र पोषणको स्थितिमा सुधार ल्याइ शिक्षाको गुणस्तर वृद्धिका लागि ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको लागि दिवा खाजामा १० रुपैयाँ नगरपालिकाले प्रदान गर्ने निर्णयमा हस्ताक्षर गर्दै नगरप्रमुख खाँणले कार्यकाल सुरु गर्नुभएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा वापत सरकारले हालप्रति विद्यार्थी १५ रुपैयाँ प्रदान गर्दछ ।

तिलोत्तमा नगरपालिकाले थप १० रुपैयाँ उपलब्ध गराउने भएपछि ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाले अब दैनिक २५ रुपैयाँ बराबरको दिवा खाजा प्राप्त गर्नेछन् । यो निर्णयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या बढ्नुका साथै ती बालबालिकाको स्वास्थ्य र पोषणको स्थितीमा पनि सुधार आउने विश्वास नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो।

‘हाम्रा बालबालिकाको आजसंग देशको भविष्य जोडिएको छ। उनीहरुलाई गुणस्तरीय शिक्षा संगै कुपोषणबाट बचाउँदै स्वस्थ राख्नु हाम्रो दायित्व हो। त्यसैले ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको खाजा खर्चका लागि सरकारले हाल दिँदै आएको १५ रुपैयाँमा नगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याउने निर्णय गरेका छौं,’ नगरप्रमुख खाँणले भन्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*