मकवानपुर गोल्डकपको उद्घाटन खेल बागमती र नवजनजागृति क्लबबीच हुने

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १९:३८

हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा यही जेठ १९ गतेबाट हुने स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजकले हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार यूथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय यूथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए । अघिल्लो बर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पूर्णबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।

प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगिता हेर्नको लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*