प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्वासन
बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् ।
बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थान भन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् ।
देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएको सरोकार समितिका संयोजक एक बहादुर श्रेष्ठले जानकारी दिए ।
निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको योजना सरकारको छ । तर सर्वोच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ । यद्यपि परमादेशको संक्षिप्त वा पूर्ण पाठ आइनसकेकाले अन्यौल कायमै छ ।
सरोकार सिमितले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
पूर्व प्रम ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताइएको छ ।
सर्वोच्चको फैसला प्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिबार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा विमानस्थल बनाउन आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै कानुनी अड्चन फुकाएर निर्माण प्रक्रिया अघि बढाउने बताएका थिए ।





















