गोलाप्रथाबाट जिसस रसुवाको प्रमुख उपप्रमुखमा एमाले विजयी

खबरपथ संवाददाता
२९ जेष्ठ २०७९, आईतवार १६:१२

रसुवा । जिल्ला समन्वय समिति रसुवाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोक कुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।

समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवा प्रसाद पौडेल र कांग्रेसका खिल बहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचवटा गाउँपालिका रहेको जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच-पाँच सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो । मतबराबर आएपछि गोलाप्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*