मकवानपुरका बालबालिकालाई आजबाट फाइजर खोप दिने

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार १२:२३

हेटौंडा । मकवानपुरका ५ वर्षदेखि १२ वर्षमुनिकालाई बालबालिकालाई बिहीबारबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइदिन भएको छ । ९ असारदेखि १५ गतेसम्म ५ देखि ११ वर्षमुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ । खोपका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको उनले जानकारी दिए । मकवानपुरमा ३९० जना स्वाथ्यकर्मीलाई तालिम दिई खोपको लागि परिचालन गरिएको छ । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ ।

कार्यालयको तथ्यांकअनुसार हेटौंडा उपमहानगरपालिकामा २५ हजार ९४९ जना, थाहा नगरपालिकामा पाँच हजार १८७ जना, बागमती गाउँपालिकामा चार हजार ५९ जना, बकैया गाउँपालिकामा पाँच हजार ३९० जना, भीमफेदीमा दुई हजार ८६४ जना, इन्द्रसरोवरमा एक हजार ८२२ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।

त्यसैगरी कैलाश गाउँपालिकामा दुई हजार ९१६ जना, मकवानपुरगढीमा तीन हजार २१३ जना, राक्सिराङ गाउँपालिकामा तीन हजार ४३० जना र मनहरीमा ६ हजार २४५ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*