घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्यो : मन्त्री शेखरचन्द्र थापा

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार २२:४१

खोटाङ । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।

डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि लौरो उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सिंहदरबारलाई घरघरमा पुर्‍याउन नसक्दा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । घरघरमा सिंहदरवारको अनुभूति दिन सक्छौँ र सक्दैनौं यो विषयलाई स्थानीय सरकार, प्रदेश सरकारले सोच्नु पर्ने बेला आएको छ, मन्त्री थापाले भने, कुर्सीमा बसेको बेला जनताको समस्यालाई पहिचान गरेर हल गर्दै लगे मात्र संघीयता आएको महसुस हुन्छ । हामीले दिएको नाराले सार्थकता पाउँछ ।”

मन्त्री थापाले बजेट वितरणका क्रममा कुर्सीमा बसेर गरिने निर्णय भन्दा फिल्डमा पुगेर गरिने निर्णय प्रभावकारी हुने औंल्याएका छन् । उनले फिल्ड भिजिट गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । कुर्सीमा बसेर मात्र गरेको निर्णयले कतिपय जनताको समस्या समाधान गर्न नसक्दो रहेछ, थापाले भने, प्रत्यक्ष रुपमा फिल्ड भिजिट गरेर हेरेर निर्णय गर्नु र कुर्सीमा बसेर गरिने निर्णयमा आकाश पातालको फरक पर्ने रहेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*