राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि

खबरपथ संवाददाता
१३ असार २०७९, सोमबार २३:५०

हेटौंडा। मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हेटौडामा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहबाट छनौट भएका खेलाडीहरूले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । सबै पालिकाहरूलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरूले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं निर्देशन समितिका संयोजक भेष खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, जिल्ला शिक्षा इकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र शाही, विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरूको बैठकमा सहभागिता थियो ।

जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले काठमाडौंमा असार २५ गते देखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । अहिले सम्म हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानीय छनौट गरेका छन् भने बकैया, गढी र कैलाशले छनौट गर्ने जानकारी दिएको दाहालले जानकारी दिए ।

राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलका गरी ४८ स्वर्ण पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*