शेखर कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी

खबरपथ संवाददाता
१६ असार २०७९, बिहीबार २२:५६

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेलाको आयोजना भएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सम्पन्न भएको हो ।

भेलामा डा.कोइराला, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी थिए । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए । कांग्रेसको १४ औं महाधिवेशनसम्म पनि उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू पनि सहभागी भएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*