गठबन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा सिटौला, अर्को बैठक साउन २६ गते बस्ने
काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको पहिलो बैठकले सिटौलालाई संयोजक बनाउने निर्णय गरिएको हो । उक्त कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना र अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन् । गठबन्धनले पाँच वटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन कुमार थापा, नेता कृष्ण प्रसाद सिटौला र ज्ञानेन्द्र बहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदलको अर्को बैठक साउन २६ मा बस्ने निर्णय भएको छ ।





















