नागरिकता विधेयक फेरि संसदमा पेश गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय
काठमाण्डौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ ।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनस् संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार नागरिकता विधेयक पुनस् संसदमै फिर्ता पठाउनु भएको थियो ।
बैठकपछि सञ्चार तथा सूचना मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भन्नु भयो
‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुभयो, यो उहाँको संवैधानिक अधिकार हो,’ ‘अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको छ।’
यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि भएको छ।
‘सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकबारे वृहत छलफल गरेर, सबैको सुझावमा विधेयक अघि बढाउने सहमति भएको छ। यसबारे कानूनमन्त्रीले सबैसँग छलफल गरिरहनु भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भन्नुभयो ।





















