नागरिकता विधेयक दोस्रो पटक हुबहु पारित
काठमाण्डौं । प्रतिनिधि सभाले दोस्रो पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरेको हो ।
बिहिबार प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए। त्यस्तै विपक्षमा ६० सांसदले मत दिएका थिए।
बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएकाले यो विधेयक संसदीय समितिमा लगी वृहत छलफल गर्नुपर्ने माग गरेको थियो ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनै पनि बहानामा रोक्दा जन्मसिद्ध नागरिकका सन्तान ७ लाख जनाले नेपाली नागरिकता पाउन नसकेकले अब ढिलो गर्न नसकिने बताउनु भएको थियो।





















