राष्ट्रपतिबाट दलका नेताहरुसँग परामर्श
काठमाण्डौं । राष्ट्पति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गर्नु भएको छ । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आउनु भएकी राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतका नेतासँग परामर्श गर्नुभएको हो ।
दिउँसो माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्ण बहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनसँग परामर्श गर्नुभएको भण्डारीले साँझ माधव नेपालसँग परामर्श गर्नु भएको हो । नेताहरुसँगको भेटमा उहाँले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्नु उपयुक्त हुने सुझाव दिनु भएको छ । यस अघि भण्डारीले कांग्रेस र एमाले, राप्रपा, लगायत दलका नेताहरुसँग पनि परामर्श गरिसक्नु भएको छ ।
नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भइसकेको छ भने राष्ट्रियसभाबाट पनि पारित हुने क्रममा छ । राष्ट्रियसभाले विधायन समितिमा पठाएको उक्त विधेयक बुधबार सो समितिबाट पनि हुबहु पारित भैसकेको छ ।





















