संविधान भन्दा माथी कोही छैन, संविधानको पालना गर्नु सबैको दायित्व – प्रदेश प्रमुख शेरचन

खबरपथ संवाददाता
३ आश्विन २०७९, सोमबार २०:५३

बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधान भन्दा माथी कोही नभएको बताउनु भएको छ । संविधान दिवसको अवसरमा सोमबार प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले संविधान भन्दा माथी कुनै संस्था वा ब्यक्ति नहुने बताउँदै संविधानको अक्षरसः पालना गर्दे अगाडी बढ्नु सबैको दायित्व भएको बताउनुभयो ।

संघ प्रदेश र स्थानिय तहमा जनादेश प्राप्त तिनै तहका सरकारहरु आ आफनो तहमा निरन्तर क्रियाशील रहेको भन्दै प्रदेश प्रमुख शेरचनले प्राप्त जनादेश अनुरूप खडा भएका संस्थाहरूले सुशासन र भ्रष्टचार रहित गुणस्तरीय सेवा प्रवाहको माध्यमबाट संविधानको कार्यान्वयन गर्दै देशमा संघात्मक शासन व्यवस्थाको जगलाई बलियो बनाउदै जानू पर्ने बताउनुभयो ।

संविधान दिवस जस्तो आजको महत्वपूर्ण दिनले सबैलाई आ–आफ्नो कमी कमजोरीहरूको आत्मसमीक्षा र आत्मआलोचित हुँदै सामूहिक सुधार गरेर प्रभावकारीताका साथ अगाडि बढ्न थप प्रेरित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका कुनै पनि देशमा पाउन नसकिने दाबी गर्नुभयो ।

प्रदेश प्रमुख शेरचनले नेपालको आफ्नै मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्था विश्वका आगाडी नमुना सावित गर्न सक्नु पर्ने दायित्व रहेको बताउनुभयो ।

उहाँले नेपालको संवैधानिक व्यवस्था विश्वका आगाडी नमुना सावित गर्नु अबको जिम्मेवारी र दायित्व भएको विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कूलप्रसाद केसी,प्रदेश सरकारका मन्त्रीहरु, सभामुख,उपसभामुख, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, प्रदेशका प्रमुख सचिब सहित मन्त्रालयका सचिबहरु, संवैधानिक निकायका प्रमुखहरु, सूरक्षा निकायका प्रमुख, प्रदेश स्थित बिभिन्न मन्त्रालय तथा विभागीय प्रमुखहरु र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*