रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान

खबरपथ संवाददाता
२४ आश्विन २०७९, सोमबार १९:२२

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट रूपमा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।

निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी व्यक्तिको लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोयनपत्र पेश भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*